फाल्गुन ४, २०८२
गण्डकी विश्वविद्यालयको छैटौं वार्षिकोत्सव समारोहका सम्पन्न भएको छ। उक्त अवसरमा गण्डकी विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब संस्थागत सुदृढीकरण र गुणस्तरीय शिक्षाको उन्नयनतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार अनुसन्धान, सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बीबीए, कानुन तथा एमआईटी-एआई लगायत कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार निर्माण र प्रशासनिक व्यवस्थापन सम्पन्न भइसकेकाले अब नवप्रवर्तन, उद्यमशीलता र समुदायमुखी सेवामा अग्रसर हुनुपर्ने आवश्यक छ।
कुलपति प्राडा इन्द्रप्रसाद तिवारी ले विश्वविद्यालयसँग ५२६ रोपनी जग्गा, दुई संकायअन्तर्गत पाँच स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन तथा १३ भन्दा बढी पाठ्यक्रम तयार भइसकेको जानकारी दिनुभयो। हाल ५३ जिल्लाका ६९६ विद्यार्थी अध्ययनरत रहेको र १७.२ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले अनुसन्धान विस्तार, सरकारी सहकार्य र समुदायसम्म विद्यार्थी अनुसन्धान पुर्याउने योजना रहेको बताउनुभयो।
उपकुलपति डा. कृष्णराज अधिकारी ले दीर्घकालीन रणनीतिअनुसार बजारमुखी तथा कृत्रिम बौद्धिकतासम्बन्धी पाठ्यक्रम विकास गरिएको र खेलकुदसम्बन्धी कार्यक्रम नेपालमै पहिलोपटक सञ्चालन गरिएको जानकारी दिनुभयो। साथै चाँडै ४३ विद्यार्थी दीक्षित हुने बताउँदै रोजगारमुखी र उद्योगसम्बद्ध शिक्षामा विश्वविद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
निवर्तमान रजिष्ट्रार डा. कैलाश तिमल्सिना ले पाँच वर्षदेखि विश्वविद्यालय राजनीतिक हस्तक्षेपबिनै सफलतापूर्वक सञ्चालन भएको र स्थानीय समुदाय, शिक्षक-कर्मचारी तथा सञ्चारकर्मीको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का डिन डेभिड श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की, हिसान का केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, हिस्टुन कास्की अध्यक्ष शंकर तिवारी तथा ब्रह्मरूपा मावि का प्रधानाध्यापक जनार्दन सुवेदी ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।