पोखरा,२०८२ भदौ ९ गते (सोमवार)

गण्डकी विश्वविद्यालयले पोखरा-३२, मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय भवनको शिलान्यास सम्पन्न गरेको छ। भवनको शिलान्यास गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापाले गर्नुभयो।

कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो। सो अवसरमा उपकुलपति प्रा.डा. नवराज देवकोटाले स्वागत मन्तव्य राख्दै भवन निर्माणले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, पोखरा-३२ का जनप्रतिनिधि, स्थानीय आमा समूह, युवा समूह, बुद्धिजीवी तथा विश्वविद्यालयका शुभचिन्तकहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा पोखरा-३२ का वडाध्यक्ष श्री अक्कल बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस कार्यले प्रदेशको उच्च शिक्षामा नयाँ ऊर्जा दिने धारणा राख्नुभयो।

प्रमुख अतिथि मन्त्री थापाले गण्डकी विश्वविद्यालय प्रदेशको शैक्षिक विकासको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गर्दै परीक्षा प्रणालीलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउन यस भवनको निर्माण अपरिहार्य भएको बताउनुभयो।

विश्वविद्यालयका योजना तथा विकास शाखा प्रमुख ई. सुदिप कोइरालाका अनुसार परीक्षा नियन्त्रण कार्यालय भवन निर्माणको ठेक्का सम्झौता श्रेष्ठ–एस.के.आर.–वास्तु जे.भी., काठमाडौंसँग रु. ४ करोड १५ लाखमा भएको छ। साथै, भवन वि.सं. २०८३ असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ई. कोइरालाले जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा अध्यक्ष कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै औपचारिक रुपमा कार्यक्रम सम्पन्न गर्नुभयो।