
पोखरा, २०८२ भदौ २०
नेपाल सरकारका संघीय युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी आज गण्डकी विश्वविद्यालयको अध्ययन भ्रमणमा आइपुग्नुभयो। भ्रमणका क्रममा उहाँले विश्वविद्यालयको खेलकुद व्यवस्थापनबारे सम्बन्धित पदाधिकारीहरूसँग विस्तृत जानकारी लिनुभयो।
सो अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारी, उपकुलपति प्रा.डा. नवराज देवकोटा, रजिष्ट्रार डा. कैलाश तिमिल्सिना, नेपाल ओलम्पिक कमिटी (एनओसी) का संयोजक समिम मिया अन्सारी, कानुन तथा व्यवस्थापन संकायका डिन प्रा. हिमराज गिरी, अनुसन्धान निर्देशक डा. राजकुमार थापा, खेलकुद व्यवस्थापन संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य डा. मधुसुदन सुवेदी, अन्तर्राष्ट्रिय मामिला तथा विकास प्रमुख रवि भण्डारी, सहायक प्रशासक डोलराज सुवेदी, योजना तथा विकास शाखा प्रमुख ई. सुदीप कोइराला तथा कास्की जिल्ला खेलकुद विकास समिति प्रमुख डि.बी. नेपाली र सहायक प्रशासक भावना ढकालको उपस्थिति थियो।
कुलपति तिवारीले विश्वविद्यालयका हालसम्मका उपलब्धि, चुनौती र दीर्घकालीन योजनाबारे जानकारी दिँदै विशेषगरी खेलकुद व्यवस्थापन कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने आवश्यकता औंल्याउनुभयो। मन्त्री चौधरीले छोटो अवधिमा गण्डकी विश्वविद्यालयले हासिल गरेको उल्लेखनीय प्रगतिप्रति उच्च प्रशंसा गर्दै यसलाई“राष्ट्रिय गौरवको शैक्षिक तथा खेलकुद केन्द्र” बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो —“खेलकुद शिक्षालाई केवल प्रतिस्पर्धासँग मात्र सीमित नराखी, व्यवस्थापन, अनुसन्धान र उद्यमशीलतासँग जोडेर देशभरका युवालाई आकर्षित गर्नुपर्छ। यस अभियानमा मन्त्रालय आवश्यक सबै सहयोग गर्न तयार छ।” साथै उहाँले खेलकुदमार्फत युवालाई कुलतबाट जोगाउन सकिने मात्र नभई यस क्षेत्रलाई आयआर्जनको भरपर्दो श्रोतका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।
उपकुलपति देवकोटाले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्दै खेलकुद व्यवस्थापनलाई विश्वस्तरीय शैक्षिक कार्यक्रमको रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको जानकारी दिनुभयो। रजिष्ट्रार तिमिल्सिनाले आवश्यक भौतिक पूर्वाधार, बजेटीय सहयोग तथा प्रचार–प्रसारका लागि संघीय सरकारसँग प्रभावकारी सहकार्यको अपेक्षा गर्नुभयो।
यसैबीच, नेपाल ओलम्पिक कमिटी (एनओसी)का संयोजक समिम मिया अन्सारीले नेपालमा नियमित रूपमा खेलकुद मुभमेन्ट सञ्चालन गर्ने र त्यसमा गण्डकी विश्वविद्यालयलाई सक्रिय साझेदार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, कास्की जिल्ला खेलकुद विकास समिति प्रमुख डि.बी. नेपालीले आगामी हुने खेलकुदसम्वन्धी जिल्ला प्रशिक्षकहरूको स्वयंसेवक छनोट प्रक्रियामा गण्डकी विश्वविद्यालयका खेलकुद व्यवस्थापनका विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभयो।
भ्रमणको अन्त्यमा मन्त्री चौधरीले गण्डकी विश्वविद्यालयलाई खेलकुद शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न संघीय मन्त्रालय निरन्तर सहकार्य गर्न तयार रहेको स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही अवसरमा, कुलपति प्रा.डा. तिवारीले मन्त्रिज्यूको सदिक्षा अनुरूप विश्वविद्यालयले आवश्यक कार्यहरू अघि बढाउने दृढ संकल्प प्रकट गर्नुभयो।