२०८२ माघ ०७ गते, बुधवार
मुस्ताङ चोक, पोखरा

गण्डकी विश्वविद्यालयको उपकुलपति पदमा सहप्रध्यापक डा. कृष्ण राज अधिकारी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी मिति २०८२।१०।०४ को नियुक्ति पत्रअनुसार गण्डकी विश्वविद्यालय ऐन, २०७६ को दफा २५ को उपदफा (४) तथा उपदफा (७) बमोजिम उहाँलाई पाँच वर्षे कार्यकालका लागि उपकुलतिमा नियुक्त गरिएको हो।

नियुक्तिपश्चात्, डा. अधिकारीले गण्डकी विश्वविद्यालयको उपकुलतिको कार्यभार ग्रहण गर्नुभएको छ।उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले नवनियुक्त उपकुलपति डा. कृष्ण राज अधिकारीलाई हार्दिक बधाई व्यक्त गर्दै उहाँको कार्यकाल सफल, परिणाममुखी र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो।

डा. अधिकारीसँग त्रिभुवन विश्वविद्यालयमा साढे २८ वर्षको सेवा अनुभव रहेको छ र सौर्य ऊर्जामा विद्यावारिधि (PhD) प्राप्त गर्नुभएको छ। यसअघि उहाँ इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरका प्रमुख तथा फिजिकल सोसाइटी गण्डकीका अध्यक्ष समेत रहनुभएको थियो।उहाँको नेतृत्वमा विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र संस्थागत प्रतिष्ठा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।