
पोखरा, चैत्र २८, २०८२
गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यस ऐतिहासिक समारोहले विश्वविद्यालयको शैक्षिक यात्रामा एक स्वर्णिम अध्याय थपेको छ। उक्त अवसरमा विश्वविद्यालयले आफ्ना प्रतिभाशाली विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेको थियो।
स्नातक तहमा ३.९५ सीजीपीए हासिल गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गर्ने गौरवपूर्ण अवसर प्राप्त गरेका छन्। गौरव औषधि विज्ञान (Bachelor of Pharmacy) कार्यक्रमका विद्यार्थी हुन्। यसैगरी, उपकुलपति पदकको सम्मान तीनजना विद्यार्थीहरूले हात पारेका छन्। तीमध्ये गौरव भण्डारी (CGPA ३.९५, B. Pharmकार्यक्रम), क्याटरीना बस्नेत (CGPA ३.८९, सूचना प्रविधि कार्यक्रम) र मलिनकुमार रोका (CGPA ३.५९, खेलकुद व्यवस्थापन कार्यक्रम) रहेका छन्।
उक्त दीक्षान्त समारोहमा कुल ४४ जना विद्यार्थीहरू दीक्षित भएका थिए। दीक्षित हुनेहरूमा खेलकुद व्यवस्थापनतर्फ ११, सूचना प्रविधितर्फ १८ र औषधि विज्ञानतर्फ १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग प्रत्यक्ष जोडिएको शिक्षा प्रणाली वर्तमान नेपालको लागि अपरिहार्य रहेको धारणा राख्नुभयो। परम्परागत शिक्षाले मात्र देशको आर्थिक रूपान्तरण सम्भव नहुने स्पष्ट पार्दै युवा पलायन रोक्न शिक्षा प्रणालीलाई रोजगारमुखी, उद्यमशीलता विकासमुखी र देशभित्रै अवसर सिर्जना गर्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री पाण्डेले उच्च शिक्षा पूरा गरेपछि ठूलो संख्यामा युवा विदेशिने प्रवृत्तिलाई गम्भीर चिन्ताको विषय बताउँदै प्रदेश सरकार शिक्षालाई आर्थिक विकाससँग जोड्ने नीतिमा क्रियाशील रहेको जानकारी दिनुभयो।
समारोहका प्रमुख वक्ता वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षा प्रणालीको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै बजारमुखी, अनुसन्धानमुखी र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धित विषयलाई पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरूमा चिन्तन, विश्लेषण र समाधानको क्षमता विकास गरिनुपर्ने धारणा राख्नुभयो। विद्यार्थीलाई केवल जानकारीले मात्र नभई सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने सामर्थ्यले सुसज्जित बनाउनुपर्नेमा जोड दिनुभयो। न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले अब विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणभन्दा गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।
विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीले गण्डकी विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै अनुसन्धान केन्द्र विस्तार, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य र समुदायमा आधारित अध्ययन-अनुसन्धानलाई प्राथमिकता दिइने जानकारी दिनुभयो। दीक्षान्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न विश्वविद्यालयका उपकुलपति एवं परीक्षा समितिका अध्यक्षसमेत रहनुभएका डा. कृष्ण राज अधिकारीको नेतृत्वमा दीक्षान्त समारोह समिति गठन गरिएको थियो।
विश्वविद्यालयले गण्डकी प्रदेश सरकार, माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री, प्रमुख वक्ता शिक्षाविद् केदारभक्त माथेमा, न्यासिक परिषद्का अध्यक्ष तथा सदस्यहरू, कुलपति तथा सम्पूर्ण पदाधिकारीहरू, विज्ञ व्यक्तित्वहरू, समाजसेवीहरू, पत्रकारहरू, विभिन्न संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू तथा समारोहलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण शिक्षक एवं कर्मचारीहरूप्रति विशेष कृतज्ञता ज्ञापन गरेको छ।