पोखरा, जेठ २७

गण्डकी विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार डा. ढाकाराम भण्डारीले आज औपचारिक रूपमा पदबहाली गर्नुभएको छ। विश्वविद्यालय परिसरमा आयोजित एक कार्यक्रममा उहाँले रजिस्ट्रार पदको जिम्मेवारी ग्रहण गर्दै आफ्नो कार्यभार सम्हाल्नुभएको हो।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ को दफा २७ को उपदफा (३) र (४) बमोजिम कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीद्वारा डा. भण्डारीलाई ऐनमा व्यवस्था भएअनुसारको पदावधिका लागि विश्वविद्यालयको रजिस्ट्रार पदमा नियुक्त गरिएको हो।

पदबहाली कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारी, उपकुलपति, विश्वविद्यालयका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै कुलपति तिवारीले रजिस्ट्रारजस्तो उच्च, जिम्मेवारीपूर्ण तथा महत्वपूर्ण पदमा नियुक्त हुनुभएकोमा डा. भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। उहाँले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत सुदृढीकरणका साथै समग्र विकासमा डा. भण्डारीको सक्रिय, सशक्त तथा नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

कुलपति तिवारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा विश्वविद्यालयका दीर्घकालीन रणनीतिक लक्ष्यहरू हासिल गर्न सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै डा. भण्डारीको अनुभव, दक्षता र नेतृत्व क्षमताले विश्वविद्यालयलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। साथै, विश्वविद्यालयमा सुशासन, पारदर्शिता, जवाफदेहिता तथा परिणाममुखी कार्यसंस्कृतिलाई थप सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सबै पक्षबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

पदबहालीपछि आफ्नो मन्तव्य व्यक्त गर्दै रजिस्ट्रार डा. ढाकाराम भण्डारीले विश्वविद्यालयको प्रशासनिक दक्षता अभिवृद्धि, शैक्षिक गुणस्तर सुदृढीकरण तथा अनुसन्धान र नवप्रवर्तनको प्रवर्द्धनलाई प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयका सम्पूर्ण सरोकारवालासँग सहकार्य र समन्वय गर्दै संस्थाको समग्र विकास तथा शैक्षिक उत्कृष्टताका लागि समर्पित भएर कार्य गर्ने बताउनुभयो।

 

कार्यक्रममा उपस्थित उपकुलपति, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले नवनियुक्त रजिस्ट्रारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।