पोखरा, असार १४, २०८३

गण्डकी विश्वविद्यालयले इन्जिनियरिङ शिक्षालाई समयसापेक्ष, गुणस्तरीय तथा उद्योगमैत्री बनाउने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै स्नातक तहका सिभिल इन्जिनियरिङ (Bachelor of Civil Engineering) तथा कम्प्युटर इन्जिनियरिङ (Bachelor of Computer Engineering) कार्यक्रमका पाठ्यक्रम संरचनासम्बन्धी प्रतिवेदनहरू विश्वविद्यालयका उपकुलपति डा. कृष्ण राज अधिकारीसमक्ष हस्तान्तरण गरेको छ।

विश्वविद्यालयले राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास तथा उद्योग क्षेत्रको बदलिँदो मागलाई मध्यनजर गर्दै दुवै कार्यक्रमका लागि छुट्टाछुट्टै Course Structure Committee गठन गरेको थियो। समितिहरूले विषय विशेषज्ञ, उद्योग प्रतिनिधि तथा शिक्षाविद्हरूसँगको परामर्श, उद्योग-शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव तथा विस्तृत अध्ययन-विश्लेषणका आधारमा पाठ्यक्रम संरचना तयार गरेका हुन्।

सिभिल इन्जिनियरिङ पाठ्यक्रम संरचना समितिका संयोजक प्रा. डा. भरत पहारी, सदस्य प्रा. डा. टेकराज ज्ञवाली तथा सदस्य-सचिव ई. सुदीप कोइरालाले सिभिल इन्जिनियरिङ कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो। त्यसैगरी, कम्प्युटर इन्जिनियरिङ पाठ्यक्रम संरचना समितिका संयोजक प्रा. डा. शशिधर राम जोशी, सदस्य डा. बाबुराम दवाडी  तथा सदस्य-सचिव ई. सरोज गिरीले कम्प्युटर इन्जिनियरिङ कार्यक्रमको प्रतिवेदन उपकुलपतिसमक्ष हस्तान्तरण गर्नुभएको थियो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. ढाका राम भण्डारी  तथा प्रशासकिय अधिकृत डोलराज सुवेदीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपकुलपति डा. कृष्ण राज अधिकारीले दुवै समितिले छोटो अवधिमै गरेको अध्ययन, अनुसन्धान, परामर्श तथा समर्पणको प्रशंसा गर्दै प्रतिवेदनमा समेटिएका सुझावहरूलाई आवश्यक प्रक्रियापछि कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा विश्वविद्यालयले उद्योग, शिक्षाजगत् तथा विज्ञ समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यार्थीकेन्द्रित, सीपमूलक तथा भविष्यउन्मुख शिक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। विश्वविद्यालयका अनुसार यी दुवै पाठ्यक्रम संरचनाले इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल, व्यवहारिक तथा रोजगारमुखी बनाउँदै दक्ष, सिर्जनशील र जिम्मेवार जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।